भन्सार छलेर ल्याइएको कपडा प्रहरीले गर्यो बरामद
काठमाडौं,7 नोभेम्बर 2023
सशस्त्र प्रहरी बल धनुषाले भन्सार छलेर नेपाल भित्र्याएको कपडा बरामद गरेको छ । प्रहरीले १२ लाख मूल्य बराबरको कपडासहितका सामान र ओसारपसारमा प्रयोग भएको सवारीसाधनहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.८ गण धनुषाका एसपी दिनेश मल्लले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बिओपि ईनर्वाबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सोमबार राति ११ बजेको समयमा ३ लाख ७५ हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । भन्सार छली गरी तीनवटा मोटरसाइकलमा नेपाल ल्याउँदै गरेको करिब ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस्तै सोमबार नै सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुरधामस्थित महावीर चोकबाट २ वटा मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको करिब २ लाख मूल्य बराबरको कपडा बरामद गरेका छन् । प्रहरीले सो कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकलसमेत बरामद गरेको जनाइएको छ ।
तस्करहरू प्रहरीलाई देखेपछि मोटरसाइकल र सामानहरू छोडेर भागेका थिए । उक्त कपडा र मोटरसाइकल गरी जम्मा १२ लाख २५ हजार बराबरको सामानहरू बरामद गरिएको एसपी मल्लले जनाए । उनका अनुसार बरामद गरिएको सो सरसामानहरू आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयहरूले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६० लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान तथा सामान ओसारपसारमा प्रयोग गरिएका सवारी साधनहरू बरामद गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।









































