६ वर्षपछि थवाङ पुगेर प्रचण्डले भने–अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं
काठमाडौं,10 नोभेम्बर 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । उनले भने,‘थवाङले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किदा म जहिलेपनि उर्जा लिएर फर्किन्छु।’ उनले आफूहरु अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको पनि खुलासा गरे ।
उनले भने,‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो। थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु। थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ। क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो।
उनले शान्तिप्रक्रियापछि माओवादीहरु विभाजित बनेको पनि सुनाए । उनले थपे–‘हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं । समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ।’









































