भूकम्पपीडितलाई चिसोको जोखिम, कठ्यांग्रिएर २ जनाको मृत्यु
काठमाडौँ, 11 नोभेम्बर 2023
भूकम्पबाट प्रभावितहरुमा चिसोका कारण स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो । चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए ।
बाक्लो तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ । तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको संख्या बढ्न थालेको छ ।
दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेका छन् । अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी संकट बढेको नगरप्रमुख रावतले बताए । ‘स्थानीयहरु नदीको दुषित पानी खान बाध्य छन्’, उनले भने,‘अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।’









































