दिल्लीको वातावरण दीपावलीले बिगार्यो
काठमाडौं, 13 नोभेम्बर 2023
आइतबार राति दीपावली मनाउन गरिएको आतसबाजीका कारण दिल्लीको वायुको गुणस्तर साह्रै बिग्रिएको छ।
वायुको गुणस्तर न्यून भएसँगै आतसबाजीमा प्रतिबन्ध लगाइए पनि मानिसहरूले आइतबार अबेरसम्म आतसबाजी गरिरहे। केही साताअघिदेखि दिल्लीको वायुमा विषाक्तताको मात्रा वृद्धि भएसँगै सरकारले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै निर्धारित समयभन्दा अघि नै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।
सवारी साधन उत्सर्जित प्रदूषण तथा धूलोका कारण दिल्लीमा वर्षैपिच्छे उच्च प्रदूषणको समस्या दोहोरिने गरेको छ। त्यसमाथि हिउँदका महीनामा छिमेकी राज्यका कृषकहरूले खेतमा बाँकी रहेका झिक्राहरू आगो लगाइदिनाले समस्या बढ्ने गरेको छ।
अहिले भने तल्लो वायुमण्डलमा हावाको गति कम हुने भएकाले पटाका पड्काउँदाको प्रदूषित हावा पनि वायुमण्डलमा तैरिरहने हुँदा यस्तो हावाले स्वास फेर्न गाह्रो बनाउँछ।
प्रदूषणको मात्रा मापन गर्ने एप समीरले गर्ने घन्टा–घन्टाको अपडेटमा सोमबार बिहान दिल्लीको ३७ वटा स्टेशनको ‘एयर क्वालिटी इन्डेक्स’ २०० अंकभन्दा बढी देखिएको थियो। कतिपय स्टेशनमा भने एयर क्वालिटी इन्डेक्स ३५० अंकभन्दा बढी भएको पाइएको थियो।
एयर क्वालिटी इन्डेक्स अनुसार १०१ देखि २०० सम्मको अंकलाई मध्यम स्तरको मानिन्छ भने २०१ देखि ३०० बीचको अंकलाई नराम्रो वर्गीकरण गरिएको छ। ३०० भन्दामाथिको स्तरलाई त घातक नै मानिन्छ भने ५०० भन्दामाथिको अंकलाई ‘अत्यन्तै गम्भीर’ मानिन्छ।
भारतको सर्वोच्च अदालतले दीपावलीको अवसरमा आतसवाजीको प्रयोगमा प्रतिबन्ध लगाउँदै न्यून प्रदूषण हुने ‘हरित आतसबाजी’को प्रयोगको अनुमति दिएको थियो। दिल्ली सरकारले पनि विगत केही वर्षदेखि नै आतसबाजीमा रोक लगाएको भए पनि यस्ता प्रतिबन्ध विरलै कार्यान्वयन हुने गरेको छ।









































