आज साउनको अन्तिम सोमबार, पुजा तथा आराधना गरि व्रत समापन गर्दै भक्तजन
काठमाडौं, 14 अगस्ट 2023
आज साउने सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो ।
साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।
बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।
भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् ।
साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।