‘ओ माइ गड २’ को टिजर रिलिज
दिल्ली, 11 जुलाई 2023
‘ओ माइ गड २’ को टिजर रिलिज भएको छ। ‘ओ माइ गड २’ मा अक्षय कुमार भगवान् शिव बनेका छन्। यसमा अक्षय कुमारले ‘भक्त’ पंकज त्रिपाठीको संकट मेट्ने भएका छन्।

यसमा यामी गौतमको पनि महत्वपूर्ण भूमिका रहेको छ।

११ वर्षपछि ‘ओएमजी अर्थात् ओ माइ गड’को सिक्वेल बनेको हो। केही दिन अगाडिमात्रै चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो। अमित राय निर्देशित ‘ओएमजी २’ मा अक्षय कुमार भगवान कृष्ण नभएर शिवको अवतारमा देखिएका छन्।
यसअघि ओ माइ गडमा उनलाई भगवान कृष्णको रुपमा देखाइएको थियो। यस पटक भने चलचित्र शिव र उनको भक्तको चारैतिर घुमेको छ। अक्षय कुमारले सोसल मिडियामा चलचित्रको टिजर रिलिज गरेका छन्।
‘ओएमजी २’ मा परेश रावलको ठाउँमा आस्तिक बनेर पंकज त्रिपाठीलाई देखाइएको छ। यामी गौतम भने अधिवक्ताको रोलमा देखिने भएकी छन्। चलचित्र २०२३ को अगस्टमा सिनेमा घरहरुमा रिलिज हुने भएको छ।

यसअघि २०१२ मा आएको ओ माइ गड बक्स अफिसमा हिट भएको थियो। चलचित्रमा नास्तिकको रुपमा देखाइएका परेश रावलले भगवानमाथि नै अदालतमा केस गरिदिएका थिए र स्वयं नै त्यसको लागि वकालस समेत गरेका थिए।









































