ट्याक्सी चालकको प्रदर्शन: भारतीय गाडीलाई निषेध गर्न माग
काठमाडौं, 10 अगस्ट 2023
विभिन्न माग राखेर ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्।

प्रदर्शनकारी यातायात मजदुरहरूले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अङ्ग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

उनीहरूले नयाँ बानेश्वरस्थित सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

त्यस्तै नेपालभरका ट्याक्सी भाडा दर एउटै कायम गरी अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने, नेपाल सरकारको मातहतमा एप्सलाई जडित गरी सम्पूर्ण एप्स खारेज गर्नुपर्ने, एप्स र मिटरको भाडा बराबर गरी सञ्चालन गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, नीलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने लगायतका माग राखी विरोध प्रदर्शन गरेका छन् ।
यो समाचार पनि पढनुहोस्…









































