हङकङविरुद्ध भारतको जित
दिल्ली, 13 जुन 2023
हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा भारत ‘ए’ ले विजयी सुरुवात गरेको छ । मंगलबार आयोजक हङकङलाई ९ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
हङकङले दिएको ३५ रनको सामान्य लक्ष्य भारत ‘ए’ले ५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा गोंगाडी त्रिसाले १३ बलमा दुई चौका र एक छक्कासहित अविजित १९ रन बनाइन् । यु चेत्री १६ रनमा अविजित रहिन् । भारतले कप्तान स्वेता सेरावतलाई भने दुई रनमा गुमाएको थियो ।
हङकङकी बेट्टी चानले एक विकेट लिइन्। त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङलाई भारतले १४ ओभरमा ३४ रनमै समेटेको थियो ।

हङकङलाई सस्तैमा समेट्न भारतकी श्रेयंका पाटिलले पाँच विकेट लिइन् । घातक बलिङ गरेकी श्रेयंकाले तीन ओभरमा एक मेडन राख्दै दुई रन मात्र खर्चिइन् । मन्नत कश्यप र प्रभावी चोपडाले समान दुई विकेट लिए । तितास साधुले एक विकेट लिइन् ।
भारतीय बलिङसामु निरीह देखिएको हङकङका एकबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङकी मारिको हिलले १४ रन बनाइन् । हङकङका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।
प्रतियोगितामा श्रीलंका, यूएई, बंगलादेश, मलेसिया, नेपाल, पाकिस्तान, हङकङ र भारत गरी आठ टिमको सहभागिता छ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, पाकिस्तान, भारत र हङकङ छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र मलेसिया छन् ।
प्रतियोतिगामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका ‘ए’ टिम र बाँकी चार देशका सिनियर राष्ट्रिय टिम नै सहभागी छन् ।
यो समाचार पनि पढनुहोस्…..
- इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन..https://nationallivetv.in/इटालीका-पूर्व-प्रधानमन्त/
- भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने..https://nationallivetv.in/सीमावर्ती-भारतीय-बजारबाट/









































