भारतमा बाढी-पहिरोमा परी २८ जनाको मृत्यु
दिल्ली, 10 जुलाई 2023
भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। भारतीय समाचार अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।

आइतबार राजधानी नयाँदिल्ली सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ।
अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।
उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।
तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन्।
दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ।
भारतीय मौसमविद्हरूले अहिलेको अवस्था सन् २०१३ मा उत्तराखण्डमा भएको ‘क्लाउडब्रस्ट’सँग तुलना गरेका छन्।










































