लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्छ : राष्ट्रपति पौडेल
काठमाडौं, 11 अगस्ट 2023
राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् । शुक्रबार शीतलनिवासमा संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले छलफलका क्रममा संसद्को गतिरोधप्रति राष्ट्रपतिले चासो राखेको बताए । ‘राष्ट्रपतिज्यूले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभयो’, पोखरेलले भने ।
राष्ट्रपतिले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराए ।
एमालेले सुन तस्करीको विषयमा गत साउन १० गतेदेखि प्रतिनिधिसभा बैठकमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।