वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं, 11 अगस्ट 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेका समस्याहरूको दीर्घकालीन निराकरणका लागि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको प्रधाननमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा छलफल भएको छ।
श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको छ। यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दिर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए।
छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी,नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल,अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव,प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखाका सचिवलगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए।
यो समाचार पनि पढनुहोस्…
- सरकारको पछिल्लो कदमबाट राज्य दोहनकर्ता र तस्करहरू तर्सिए: प्रचण्ड
- रोनाल्डोको गोलमा अल नासर फाइनलमा पुग्यो