नयाँ दिल्ली डेस्क, 5 मे 2020
“समाज सेवा सबैभन्दा ठुलो धर्म हो र पुण्य कमाउन मन्दिर नै जानुपर्छ भन्ने छैन, दुखी, गरिब र पिडितहरूलाई सेवा गरे महापुण्य प्राप्त हुन्छ” यहि भनाईलाई अछाम जिल्ला चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साँउदले व्यवहारमा उतार्नु भएको छ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भारतमा अलपत्र परी खाना र बस्नको समेत समस्या भएका नेपालीहरूलाई अध्यक्ष साँउदले एक लाख बराबरको राहत वितरण गर्नुभएको छ।

लकडाउनका करण भारतको मुम्बई, पंजाब, गुजरातलगायत विभिन्न स्थानमा होटल, कम्पनी, घरको कोठी, व्यापार व्यावसायलगायत असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरू अहिले सबैभन्दा मर्कामा परेका छन्। अछामको चौरपाटी गाउँपालिका स्थायी घर भई हाल रोजगारीको सिलसिलामा भारतमा रहेका उनिहरूले विभिन्न संघ-संस्था बुद्धिजीवी तथा समाज सेविहरुमार्फत सहयोगका लागि अपिल गरेपछि अध्यक्ष साँउदले नेपाल सरकार तथा स्थानीय प्रशासनबाट कुनै प्रकारको सहयोग नपाईने निश्चित भएपछि व्यक्तिगत रूपमा सो सहयोग गर्नुभएको हो।

भारतमा अलपत्र नागरिकहरूको पिडालाई हेर्न नसक्ने भन्दै दुई छाक टार्नको लागि भए पनि 1 लाख बराबरको खाद्यान्न सहयोग गरेको अध्यक्ष साँउदले बताउनुभयो।

एउटा समिति बनाएर नेपालबाट नगद पैसा आएको थियो। चौरपाटी गाउँ पालिका घर भएर भारतको मुम्बईमा काम गर्दै आएका समाज सेविहरुको समितिलाई राहत वितरणको जिम्मा दिएको थियो। समाज सेवि करन साँउद प्रेम खडका अपेन्द्र खड्का र मान बहादुर साँउदको नेतृत्वमा गठित टोलीले उक्त गाँउपालिकाका पीडित व्यक्तिहरुको सूची तयार पार्दै भारतको मुम्बई, पंजाब, गुजरातलगायत विभिन्न ठाँउमा रहेका 68 जनालाई राहत वितरण गरेको हो।
साँउद 2072 सालको स्थानीय चुनावमा अछाम जिल्लाको चौरपाटी गाउँपालिका नेकपा एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।









































