काठमाडौं, 2 सितम्बर 2021
महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको शुरुवात गरेको हो । महाशाखाले भोलि (शुक्रबार) बाट लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ । प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेण्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो हाम्रो प्रविधि तर्फको अन्तिम खुड्किलो होइन, यस्ता धेरै खुड्किलाहरु पार गर्नुपर्नेछ, अरु कुराहरुलाई पनि बिस्तारै बिस्तारै अघि बढाउनुपर्छ, एकैपटक टपमा जम्प गर्छु भन्यो भने पुगिँदैन, त्यसैले बिस्तारै बिस्तारै एउटा डिजिटाइड रुपमा पुग्न सक्छौँ, यो हाम्रो अनलाइन पेमेण्ट सिस्टमकै अर्को प्रारुप हो, हिजोको दिनमा हामीले बैंकमा गएर, लाइन बसेर, जरिबना तिर्नुपर्ने अवस्था थियो भने त्यसको केही हदसम्म अनलाइन पेमेण्ट सिस्टमबाट समाधान गरियो, अहिले पनि ४० प्रतिशत पेमेण्ट मात्रै अनलाइनबाट भइरहेको छ, अन्य मानिसहरुमा अहिले पनि यूज टू भइसकेको छैन, ६० प्रतिशत अझै पनि बैंकमै गएर तिर्ने प्रचलन छ, मलाई लाग्छ, बिस्तारै मानिसमा यूज टू हूँदै गएपछि ४० बाट बढ्दै जान्छ, एकदिन यस्तो पनि आउनेछ, सबै जरिबाना तिर्ने काम अनलाइनबाटै हुनेछ, त्यस्तै क्यूआर कोड अनलाइन भन्दा सजिलो हुने रहेछ, यदि हामी क्यूआर कोडबाट तिर्न चाहन्छौँ भने अब हामीले हाम्रो चिटमा प्रत्येक चिटको लागि अलग अलग क्यूआर कोड चिटमै छापिएको हुनेछ, यदि सुविधा मसँग छ भने चिटको क्यूआर कोड स्क्यान गर्ने बित्तिकै जति पैसा हो त्यो काटिन्छ, अहिले पनि हामी चिट काट्ने, डकुमेण्ट लिने, त्यसलाई सम्बन्धित कार्यालयमा ल्याएर त्यसलाई इन्ट्री गर्ने, त्यसपछि दिने भन्ने सिस्टममा छौँ, तर बिस्तारै डकुमेण्ट नै लिन नपर्ने अवस्था हामी बनाउँछौँ, त्यो प्रोसेसमा हामी लागिरहेका छौँ ।’
प्रमुख भट्टराईले क्यूआर कोडमार्फत् आफैँ भूक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोवल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताउनुभयो । उहाँले गत वर्षमा अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउँदा २ वटा वालेटबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था बनाएर शुरु गरेको स्मरण गर्दै पछि यसको व्यापकता ६०÷७० को हाराहारीमा पुगेको बताउनुभयो ।
प्रमुख भट्टराईले भन्नुभयो, ‘अहिले हामीले ग्लोवल आइएमई बैंक, जहाँ हाम्रो राजस्व संकलन हुन्थ्यो, त्यो बैंकको क्यूआर कोडबाट शुक्रवार (भोलि) देखि नै चिट काट्न थाल्छौँ, त्यो बैंकको क्यूआर कोडबाट हामीले भुक्तानी गर्न सक्नेछौँ, तर निकट भविष्यमै दुई÷चार दिनभित्रै म्याक्सिमम बैंक र वालेट गरेर ५० वटासम्म बैंक र वालेटबाट भुक्तानी गर्ने तर्फ अगाडि बढीरहेका छौँ, भोलिका दिनमा यसलाई अझै व्यापकतामा लान सके नेपालमा भएका सबै बैंकहरु पनि यसमा आवद्ध हुन सक्नुहुनेछ । चालकहरुले जुन खाता आफूसँग छ त्यहीबाटै भुक्तानी गर्न सक्नुहुन्छ ।’
प्रमुख भट्टराईले यो प्रविधिले सम्पूर्ण चालक र ट्राफिक प्रहरीहरुलाई सहयोग पुर्याउने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले बनाएको प्रविधितर्फ जाने योजनाले भविष्यमा अन्ततः अनलाइनबाटै सबै कुरा गर्न मिल्ने व्यवस्थामा पुग्ने बताउनुभयो ।









































