धादिङ , २३ जनवरी
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई जिल्ला प्रशासन कार्यालय धादिङले हिरासतमा राखेर मुद्दा चलाइने जानकारी गराएको छ । जिल्लाभित्रका सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय लिएको हो ।
ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा ७ जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए ।
बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन गर्ने निर्णयसमेत गरेकोे छ ।
बढी यात्रु चढाउने तथा मालवाहक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारबाही गर्ने सहमति बैठकमा भएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीले भने ।
ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने निर्णय गरेको छ ।









































