काठमाडौं, 31 जनवरी 2022
अभिनेता राजेश हमाल गायनमा व्यस्त हुन थालेका छन् । उनले दुई महिनाअघि मात्र नयाँ गीत ‘मन बुढो भएन राजै मन बुढो भएन…’ आफ्नो स्वर र अभिनयमा बजारमा ल्याएका थिए भने उनलाई थुप्रै गीत गाउने प्रस्ताव आयो । ती प्रस्तावमध्ये उनले गीतकार गोविन्द भट्टको नयाँ गीत ‘म त हजुर गाउँले ठिटो…’ यतिबेला आफ्नो स्वरमा रेकर्ड गराएका छन् । अभिनेता हमालले केही दिनअघि मात्र अब आफू गायनमा निरन्तर जाने जनाएका थिए । उनको गीत गाउने चाहना मिडियाबाट व्यक्त गरेपछि उनलाई गायनमा प्रस्ताव आएको हो । सोही क्रममा आफूलाई गीत मन परेर यो नयाँ गीत पनि गाएको जनाएका छन् । काठमाडौंको अर्केस्टिक स्टुडियोमा तीन दिन अघि यो रेकर्ड भएको यो गीत निकै राम्रो बनेको अभिनेता तथा गायक हमालले बताएका छन् । यो गीत आम नेपालीको कथा व्यथामा आधारित रहने हमालको कथन छ । यो गीतमा सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।सन्तोषका अनुसार गीतकार गोविन्द भट्टराईले प्रस्ताव राखेपछि हमालले उनको प्रस्ताव सहजै स्विकारेका हुन । गीतकार गोविन्दसँग केही साताअघि सन्तोषको नयाँ गीत ‘हल्का हल्का लजाएर…’ को भेटमा हमालको भेट भएको थियो । ‘हल्का हल्का…’जस्तो सजिलो गीत पाएमा आफूले पनि गाउने चाहना त्यतिबेला राजेशले व्यक्त गरेका थिए । हमालको त्यो चाहनालाई बुझेर गोविन्दे लोक पप शैलीको गीत तयार गरे । हमाललाई शब्द र लय मन परेपछि उनी यो गीत गाउन तयार भएका रहेछन् । यो गीतको भिडियो निर्देशन देवेन्द्र पान्डेले गर्दै छन् । उनले भने, ‘नेपालीहरू विदेश पलाएन भएको बेला यो गीतले नेपालमै बसेर केही गरौं भन्ने सन्देश दिनेछ । गीतको भिडियोमा राजेश हमाल आफैं गाउँले भूमिकामा प्रस्तुत भएर अभिनय गर्दै हुनुहुन्छ ।’ अर्को सातासम्म यो गीतको भिडियो पनि रिलिज हुने उनले जनाएका छन् । राजेशले गाएको पहिलो गीतको भिडियो निर्देशन पनि देवेन्द्र पान्डेले नै गरेका थिए, ‘पहिलाको गीत मन पराइएपछि उहाँले गायनमा निरन्तता दिन्छु भन्नुभएको छ । अब आउँदा दिनमा पनि उहाँका गीतहरू एकपछि अर्को गर्दै आउनेछन् ।’ पछिल्लो समय म्युजिक भिडियो र विज्ञापनको छायांकनमा व्यस्त रहेको हमालले यो दोस्रो गीत गाउँदा गायनबापतको पारिश्रमिक पनि पाएका छन् । अब उनले राम्रै पारिश्रमिक लिएर गीत गायनलाई निरन्तता दिनेछन् ।









































