काठमाण्डौ, 19 अगस्त 2021
कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको छ । अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्नुहुने आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शेलीले यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’
कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको अध्ययनले पत्ता लागेको बताइएको छ । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्ने साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य गर्ने छ । हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्ने अध्ययनले स्पष्ट पारेको उहाँले बताउनुभयो ।पत्रकार सम्मेलनमा अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको बताइएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने र दैनिक २ पटकका दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँने र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने जानकारी दिइयो ।









































