काठमाडौं, 12 जनवरी 2023
अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’ मा दोस्रो पटक विजय हासिल गरेका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।
नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन । मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले भागवत गीता छोएर शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलव्धि भएको टिप्पणी गरे ।
उनले अगाडि थपे, ‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटोसमेत राखेका छन् ।
यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा. भण्डारीले गीताको सारजस्तै कर्म गर्न आफू लागि रहने बताएका थिए । सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने उनले बताएका छन् । नेपाली समुदायका अगुवाहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भण्डारी मेरिल्यान्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिस्ट्रिक ८ बाट १९ हजार सात सय दुई मत ल्याएर गएको नोभेम्बर महिनाको ८ तारिखमा भएको चुनावमा विजयी भएका हुन् भने उहाँ त्यस क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गर्नुभएका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताएका छन् ।
अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् 2005 मा अमेरिका आउनुभएका भण्डारीले डेढ दशकभन्दा बढी मेरिल्यान्डको विद्यालयमा अध्यापन गराउनुभएको अनुभव छ भने मेरिल्यान्डमा रहेको युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारिधिसमेत गर्नुभएको छ । नेपालको पर्वतको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मनुभएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका हुन् ।
व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनका लागि मात्र नभइ एसियाली अमेरिकनका लागि पनि रोचक रहेको छ । आउँदो चार वर्ष भण्डारीले मेरिल्यान्ड राज्यको विधायकको रूपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्ने छन् ।









































