काठमाडौं, 28 अप्रैल 2023
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले गरेको अयोग्य लडाकुलाई दुई-दुई लाख दिने निर्णयको विरोध गरेका छन् । आज (शुक्रबार) समाजवादी प्रेस संगठन धनुषाले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मुलुक आर्थीक संकटसँग गुज्रिरहेको अवस्थामा देशको ढुकुटी रित्तो बनाउने गरि अयोग्य लडाकुको नाममा करोडौं रकम खर्च गर्नु गलत रहेको बताए । अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको पनि बताए। आफूलाई यसबारे धेरै कुरा थाहा नरहेको बताउँदै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा स्पष्ट पार्नुपर्ने समेत जिकिर गरे।
उनले अब ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले स्वयम् आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि तयार हुन पनि आह्वान गरेका छन्।
अध्यक्ष नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनकारी दलको पालै पालो नेतृत्व हुने बताए।









































