काठमाडौं,१८ मार्च, २०२०
अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यकबाहेकका सेवाका लागि दूतावास नआउन अपिल गरेको छ । आउनै पर्ने भएमा एक्लै उपस्थित हुन उसले अनुरोध गरेको छ ।
कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन अपिल गरेको हो ।
दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ ।
क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ । यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन् ।









































