नयाँ दिल्ली,२८ जनवरी
गायिका आस्था राउतलाई हिरासतबाट स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालमा लगिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गायिका आस्था राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । गायिका राउतलाई ‘हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने ।
यसअघि १ माघमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको सामाजिक सन्जालमा आएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।
सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेर चार दिन म्याद थप गरिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ ।









































