काठमाडौं, 20 मार्च 2023
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन्। गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । उनले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए।
उनले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वभविक नरहेको बताए। उनले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरे।
उनले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गरे।
उनले भने, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्नेकुरा उठेको छ। यो आशंका गर्नु अस्वभाविक होइन, तर त्यो अवस्था आउँदैन। यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ। यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ। यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु। संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनैपनि किसिमको समस्या बिना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु। नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ। हाम्रो घटकहरुसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने समेत बताए।









































