काठमाडौं, 20 मार्च 2023
जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालबाट लोकतन्त्र, संघीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष राउतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको बताए।
उनले भने, ‘संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरु नेपालमा थिए । त्यो भनेको संघीयता नै हो । तर त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’ उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए ।









































