नयाँ दिल्ली, 17 डिसेम्बर 2020
कोरोना भाइरस (कोभिड –19) संक्रमण नियन्त्रणका लागि विगत 9 महिनादेखि बन्द नेपाल भारत हवाई उडान आजदेखि आंशिकरुपमा सञ्चालनमा आएको छ। कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण सरकारले गत चैत 11 गतेदेखि देशव्यापी लकडाउन र हवाई उडान बन्द गरेको थियो। त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल र भारतले एक एक वटा उडान सञ्चालन गरेका हुन । आज नेपाल एयरलाईन्सको एक विमान काठमाण्डौबाट दिल्ली आएको छ भने एयर इण्डियाको एक विमान दिल्लीबाट काठमाण्डौ अवतरण गरेको छ । नेपाल एयरलाइन्स कार्यालयले दिएको जानकारी अनुसार आज विहान सवा 11 बजे 158 जनाको सिट क्षमता भएको A–320 जहाज काठमाण्डौबाट दिल्लीका लागि गएको थियो । पहिलो उडान भएपनि विमानमा झण्डै 85 प्रतिशत यात्रुले यात्रा गरेको कार्यालले जनाएको छ ।
यस्तै आजै दिउँसो 2 बजे दिल्लीबाट एयर इण्डियाको जहाज काठमाण्डौ अवतरण गरेको हो । आजदेखि दैनिक एक उडान काठमाडौंबाट दिल्ली प्रस्थान गर्नेछ। यस्तै भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ।
यात्रुले नेपाल सरकार र भारत सरकारले तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड भने पुरा गर्नुपर्ने छ। भारत जाँदा अधिकतम 72 घण्टा भित्रको पिसिआर नेगेटिभ भएको रिर्पोट देखाउनु पर्नेछ । भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन्।
यात्रुको चाप हेरेर जहाजको संख्या वृद्धि गर्दै जाने नेपाल वायुसेवा निगमको तयारी छ। सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिएको थिएन।









































