काठमाण्डौं, 29 सेप्टेम्बर 2020
धुमपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ। विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले धुमपान त्यागेको एक वर्षमा हृदयघातको सम्भावना आधाले कम हुने बताएका हुन। विश्व मुटु दिवसका अवसरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. मुरारी ढुंगानाले ३० देखि ७० वर्ष उमेर समूहमा प्रति १० जनामध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको बताउनुभयो। मुत्युको प्रमुख कारणमध्ये मुटुरोग पनि एक भएकाले जनचेतना बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले धुमपान त्यागेको १२ महिनामा हृदयरोग हुने सम्भावना आधा कम हुने बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले गंगालाल हृदयरोग केन्द्रले अनुसन्धानका काम अगाडी बढाउनुपर्ने बताउनुभयो । छुट्टै विभाग बनाएर रिसर्चका काम अघि बढाए परिषदले सहयोग गर्ने उहाँले बताउनुभयो ।
केन्द्रले लक डाउन सुरुभएदेखि असोज १० गतेसम्म करिब साढे ६ हजार विरामीलाई आकस्मिक सेवा प्रदान गरेको छ । कोभिड १९ संक्रमण जोखिमका बीच गत चैत १२ गतेबाट असोज १० गतेसम्म केन्द्रले ६ हजार ४ सय ६१ जनालाई आकस्मिक सेवा प्रदान गरेको हो । केन्द्रको अन्तरंग विभागमा १ हजार ८ स ५१ जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ । यसैगरी प्राइमरी एन्जियोप्लाष्टि १ सय ७६, परमानेन्ट पेशमेकर ९, कोरोनरी एन्जियोग्राफी ५ सय ८७ र कोरोनरी एन्जियोप्लाष्टि २ सय ५३ जना गरी क्याथ ल्याब प्रोसिड्युर सेवा १ हजार २ सय २९ जनाले लिएको केन्द्रका कार्डियोलोजी विभागका रजिष्टार कुन्जन शेर्पाले बताउनुभयो ।









































