काठमाडौं, 27 मार्च 2023
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन्। सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्। उनले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे।
उनले भने, ‘२०४६ सालसम्म मूल्य-मान्यता र आदर्शको रानजीतिमा दलहरुले बढी जोड दिएको हामीले पाएका छौं। तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुला भइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ। हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले ध्यान दिन सकेका छैनौं। त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ।’
कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण समेत गरे ।









































