काठमाडौं, 29 जुलाई 2020
अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको बताउनुभएको छ। वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो। संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताउनुभयो। दातृ निकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उहाँले बताउनुभयो। अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरुमा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताउनुभयो। अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरीने उहाँले बताउनुभयो। अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरुमा समस्या हुने गरेको समेत बताउनुभएको छ ।
उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न नसक्ने अवस्था सधै नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो। डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताउनुभयो। सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको बताउनुभयो। विदेशी सहायताका विषयहरुमा गम्भिर छलफल गरी अगाडी बढाउनुपर्ने उहाँले बताउनुभयो। एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडी बढ्नुपर्ने उहाँले बताउनभुयो। एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडी बढाउने उहाँले बताउनुभयो। एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी—रातामाटे—हेटौंडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडी बढाएको छ। एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पुरा गर्ने यसअघि नै बताइसकेको छ ।









































