काठमाण्डौ, 5 जनवरी 2021
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाँड सुनेर आफूलाई पोल्ने गरेको समेत बताउनुभयो । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुऱ्याएर बस्नुपर्ने अवस्थामा पुऱ्याएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताउनुभयो । जनताको हितमा काम नगर्ने तर भ्रष्ट्राचारलाई मौलाउने भूमिका खेल्ने प्रवृतिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताउनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको हत्या गर्न खोजेको आरोप समेत लगाउनुभयो । प्रजातान्त्रिक प्रवृति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत बताउनुभयो ।
अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठिक व्याख्या गरेर गलत गर्नेहरुलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।









































