काठमाडौं, 23 अप्रैल 2022
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने समेत बताउनुभयो । उहाले आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताउनुभयो । मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने भन्दै युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने बताउनुभयो । कृषि प्रधान देशले वर्षेनि रु तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्नुपरेकाले कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्ने उहाले बताउनुभयो । कार्यक्रममा मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने जानकारी दिनुभयो ।









































