काठमाडौं, 26 अगस्त 2020
काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय गरेका छन। यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ । बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ। नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ। त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ। त्यस्तै अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ।
सरकारले पनि अत्यावश्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ। तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनैपनि पास वितरणको काम भएको छैन। उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन। यस्तै भक्तपुर तर्फको साँगा नाकामा पनि प्रहरीले कडाई गरेको छ। उपत्यका प्रवेश गर्ने सवारी साधन कम मात्रामा देखिन्छन। यस नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ। समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ। उपत्यका भित्र पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोक-चोकमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ। अत्यावश्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएकाछन।









































