काठमाडौं, 10 मार्च 2023
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति महिला हुनु उपयुक्त हुने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा लैंगिक रुपमा फरक हुनु पर्नेमा उनले जोड दिए। शुक्रबार बिहान माओवादी घटकका दलहरुको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै गुरुङले सो कुरा बताए।
‘उपराष्ट्रपतिमा जसले सिफारिश गरे पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था, स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ,’ उनले भने ।
आगामी चैत ३ हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। राष्ट्रपतिमा बिहीबार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए।









































