काठमाडौं, 10 मार्च 2023
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार विपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका हुन् । पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्न समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे । अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केही सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । पौडेलले विपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर जिकिर गरे । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको विपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले विपी कोईरालाको सालिकमा माल्यार्पण गरेका थिए । पौडेलले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको सालिकमा पनि माल्यार्पण गरेका थिए ।









































