काठमाण्डौ, 26 जुलाई 2020
अमेरिकाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ। आइतबार नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर एमसीसीका विषयमा चासो राख्नु भएको हो । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गर्नुभएको हो । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझ्नुभएको हो । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले बताउनुभयो । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढि जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राख्नु भएको थियो । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।









































