काठमाण्डौ, 3 सितम्बर 2021
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । उपाध्यक्ष गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाउनुभएको छ । गौतमले शुक्रबार पार्टी कार्यालयमै पुगेर राजीनामा पत्र बुझाउनुभएको तामाङले जानकारी दिनुभयो । तत्कालीन नेकपामा विवाद आएपछि गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा जाने चर्चा थियो। तर, पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादी पार्टीमा पनि नजाने बताउनुभएको छ ।









































