काठमाडौं, 28 जनवरी 2023
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा उनले सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे। सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने उनको जिकिर थियो। उनले कांग्रेसले कुनै हालतमा राष्ट्रपनि नपाउने जिकिर गरे। धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा रहेको उनले बताए।
‘कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन। पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्।’
बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए। ‘केही दलले छिर्के दाउ हानेर वर्तमान सत्तागठबन्धन तोड्ने प्रयास गरिरहेका छन्। त्यो सफल हुने छैन्। सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन्। राजनीति विश्वासले चल्ने हो। एक माघले जाडो जाने विषय पनि होइन्। यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन। इमानदारीता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन्। विश्वास घात कसैबाट हुने छैन’, उनले भने। अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयमा सबै दल इमानदार रहेको उनले बताए।
कांग्रेस सत्ता पक्ष बन्न सकेन। विडम्बना प्रतिपक्ष बन्न पाउँ भन्दै संसद सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको उनले बताए। जसरी पनि सत्ता पुग्नका लागि मरिहत्ते गर्ने र राज्यको दोहन गर्नेबाहेक मुलुक बनाउने भिजन कांग्रेसमा नभएको ज्ञवालीले बताए। मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उनले बताएका छन्।









































