काठमाडौं, 28 जनवरी 2023
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन्। अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए।
नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनले दोलालघाटमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए। एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ छ।
उनले भने, ‘एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ। यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन।’ सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनको जोड छ। अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको पोखरेलको भनाइ छ।









































