काठमाडौं, 28 जनवरी 2023
सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए ।
‘सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री…, उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलले एउटा टुंगोमा पुर्याउँछौं’, उनले भने, ‘यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो।’
प्रतिनिधिसभामा २० सिट रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेको घटनामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । सो घटनापछि लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि गुमाएका छन् ।
वर्तमान सरकारको महत्वपूर्ण साझेदार रास्वपा सभापतिको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला नेम्बाङले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताए ।









































