काठमाडौं, 5 अप्रैल 2022
चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे । यस जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । चर्च ब्वाइज ’बी’ लिग खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजले बिस २०७७ मा ’सी’ डिभिजन लिग खेलेको थियो ।









































