काठमाडौं, 28 अप्रैल 2023
एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरूमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
अध्यक्ष झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महँगो पर्ने उनले चेतावनी दिए ।
यो काममा सरकारले मौन समर्थन गर्नुको साथै आक्रमणकारीलाई उक्साउने काम गरिरहेको आरोप लगाए । सत्ता गठबन्धनका दलका कार्यकर्ता नै आक्रमणमा भएको दाबी गर्दै सरकारले के गर्न खोजेको भनेर प्रश्न गरे ।









































