काठमाडौं, 28 अप्रैल 2023
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपति अस्वभाविक वैदेशिक उपचार यात्रामा गएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वाभाविक भएको उनको भनाइ छ । उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताए । उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले यस्ता नकारात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे । उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताए ।









































