काठमाडौं, 9 मार्च 2023
राष्ट्रपति चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् । विभिन्न दलका शीर्षनेताले मतदान गरिसकेपछि ओली मतदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् । नौ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ । राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका हुन्। यस्तै, अध्यक्ष ओलीले नमिल्ने भनेर कसम नखाएको पनि जिकिर गरे।
ओलीले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।’









































