कालेबुङ, 8 मार्च 2020/ रूबेन गुरूङ
पश्चिम बङ्गाल माइल्युङ्ग लेप्चा बोर्डका प्रमुख एल.एस. तामसिङ र उहाँसँग सम्बद्ध लेप्चाहरूको विरूद्धमा धरना-प्रदर्शन जारी छ। इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा)-का कार्यकर्ताहरूले त्रिकोण पार्कमा आज नवौँ दिन पनि आफ्नो धरना-प्रदर्शन जारी राखेका छन्। गत 29 फरवरीदेखि कालेबुङमा इल्टा-का कार्यकर्ताहरूले पश्चिम बङ्गाल माइल्युङ्ग लेप्चा बोर्डका प्रमुख एल.एस. तामसिङ र उहाँसँग सम्बद्ध लेप्चाहरूको विरूद्धमा धरना-प्रदर्शन गरिरहेका छन्। पश्चिम बङ्गाल माइल्युङ्ग लेप्चा बोर्ड, बोर्डका प्रमुख र उहाँका समर्थक लेप्चाहरूसित असन्तुष्टि प्रकट गर्दै इल्टा-का कार्यकर्ताहरूले अनिश्चितकालीन धरना-प्रदर्शन जारी राखेका छन्। इल्टा-का प्रवक्ता छिरिङ लेप्चाले सञ्चारमाध्यम माझ आफ्नो सङ्गठनको असन्तुष्टि र गुनासोहरू राख्नुभयो।
अर्कोतिर मेला ग्राउन्डमा आयोजना गरिएको जनसभामा एल.एस. तामसिङले सुश्री ममता ब्यानर्जीको पार्टी सत्तामा आएपछि मात्र लेप्चाहरूले हकाधिकार पाउन थालेको बताउनुभयो। यसअघि बङ्गालमा काँग्रेस र सी.पी.एम. सत्तामा हुँदा लेप्चाहरूको हकहित र अधिकार निम्ति कुनै काम नगरेको उहाँले आरोप लगाउनुभयो।
जनसभालाई सम्बोधन गर्दै राजधानी दिल्लीका समाजसेवी तथा माइल्युङ्ग बोर्डका सल्लाहकार चन्द्र लेप्चाले बोर्डका प्रमुखले लेप्चाहरूको हकहितको लागि मात्रै काम गरिरहेको तर्क गर्दै उहाँ विरूद्ध धर्ना-प्रदर्शनकारीहरूको आरोप र क्रियाकलाप निराधार भएको बताउनुभयो।
त्यसैगरी सक्रिय कार्यकर्ता एडविन लेप्चाले स्थानीय एउटा ब्याङ्कले लेप्चाहरूको निक्षेपको दुरूपयोग गरेको आरोप लगाउनुभयो।









































