धनगढी, 11 अप्रेल/ हिम शाह
केन्द्रीय पशु प्रयोगशाला काठमाण्डौँबाट ल्याइएको पी.सी.आर. उपकरणबाट आजदेखि स्वाब परीक्षण शुरु गरिएको छ। धनगढीको एल.एन. चोकमा रहेको पशु अन्वेषण केन्द्रको प्रयोगशालामा परीक्षण शुरु गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव लोकेन्द्र धामीले बताउनुभयो। सुदूरपश्चिममा 4 जनालाई कोरोना संक्रमण देखिएपछि स्वाब परीक्षणको गति बढाउन दवाव परेपछि सो उपकरण ल्याइएको थियो।
सो उपकरणले झण्डै 5 घण्टामा 96 वटा स्वाब परीक्षण गर्ने बताइएको छ। सो उपकरण बुधबार सेनाको स्काइ ट्रकबाट धनगढी ल्याइएको थियो।

त्यसअघि चीनबाट ल्याएर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको उपकरणले 1 घण्टा 10 मिनेटमा एउटा मात्रै स्वाब परीक्षण गर्ने गरेको छ। सो पी.सी.आर. उपकरण सेती प्रादेशिक अस्पतालमा राखिएको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।









































