काठमाडौं,१२ फरवरी, २०२०
कैलालीबाट नक्कली प्रहरी बनेर पैसा असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ्गको खप्तडछान्ना गाउँपालिका १ घर भइ कैलालीको धनगढी उपमहानगरपालिका ७ मनहेरा बस्ने वर्ष ३२ का सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कन्चनपुरको पुनर्वास नगरापालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ३३ का किशन सिजापती रहेका छन् ।
गत माघ २ गते धनगढी उपमहानगरपालिका ३ का चन्द्रभान शर्माले मलनचोकमा सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा उनीहरुले भारतीय नम्बर प्लेटको मोटर साइकल चोरीको हो, हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौ, मोटर साइकल लैजान्छौ भनी धम्काइ ५ हजार रुपैयाँ मागेको र २ हजार ५ सय बुझाएपछि मोटरसाइकल छोडी गएको भन्दै परेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।









































