काठमाण्डौ, 25 अप्रिल 2021
नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रीत हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढीरहेको भन्दै यस विरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरुलाई कोभिड–१९ विरुद्धको लडाइँमा क्वारेन्टीनहरुको निर्माण गर्न, गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्न, बिरामीलाई अस्पतालसम्म पुर्याउन सहयोग गर्न स्थानीय तह र जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभएको छ । अब छिटो छिटो आयोजक कमिटीको बैठक बस्न गाह्रो पर्ने भएको हुनाले प्रत्येक केन्द्रीय सदस्यहरु र मातहतका कमिटीहरुले प्रदेश कमिटी, जिल्ला कमिटी र अन्य मातहत कमिटीहरु, जनसङ्गठनहरु, जनप्रतिनिधिहरु सबैले जिल्ला जिल्लामा डेस्कहरु राख्ने, विदेशबाट आएका या संक्रमणका सम्भाव्य जोखिममा रहेका साथीहरुलाई क्वारेन्टीनमा राख्ने, क्वारेन्टीनहरु बनाउनको निम्ति स्थानीय तहहरुसँग समन्वय गर्ने, गाउँगाउँमा जागरण अभियानहरु सञ्चालन गर्ने, कोही बिरामी हुनुभयो भने उहाँहरुलाई नजिकको अस्पताल सम्म पुर्याउनका निम्ति मद्दत गर्ने र यसमा चाहिं स्थानीय तह र जिल्लाको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग मिलेर गर्ने अभियान चलाउन सिङ्गो पंक्तिलाई परिचालन हुनको निम्ति विशेष निर्देशन दिने प्रयोजनको लागि आजको बैठक आयोजना गरिएको थियो र प्रधानमन्त्रीले तद्नुरुप नै निर्देशन दिनुभएको छ । साथीहरुलाई तद्नुरुप नै खट्नका लागि भनिएको छ । मुलत्ः सिङ्गो पार्टी एकढिक्का भएर यो कोभिड विरुद्धको लडाइँमा लाग्न केन्द्रीत हुने निर्णय गरेको छ ।’
प्रवक्ता ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताउनुभयो । नेताहरुलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्तिनै बैठकले त्यस बारेमा छलफल गरेर प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिं आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समिक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठुलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौँ आवश्यक निर्णयहरु पछाडी उपयुक्त समयमा गरिनेछ ।’
प्रवक्ता ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने बताउनुभयो । सरकारको आग्रह स्वास्थ्य मापदण्ड पालना गराउनु नै रहेको बताउनुभयो । अर्थतन्त्र र जनजीविकामा प्रभाव नपरोस् भन्ने हेतुले देशव्यापी रुपमा लकडाउन नगर्ने तर हटस्पटहरुमा लकडाउन हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘तत्काल हामी नेशनवाइज् लकडाउन हामी गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ तर अलिकति पुस गर्ने मात्रै हो । त्यो आफैमा अन्तिम समाधान होइन । त्यसकारणले भर्खर भर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, मान्छेका जीविकामा प्रतिकुल प्रभाव नपरोस् भन्ने सरकारको चाहाना छ । त्यसो भाको हुनाले हटस्पटहरुमा पार्सली लकडाउन हुनसक्छ । त्यो लोकल मात्रै । नेशनवाइज लकडाउन तत्काल चाहिं हुँदैन ।’
अहिलको कोभिड–१९ सक्रमणको अवस्थालाई धान्न सकिने भएपनि यही ढङ्गले बढ्दै गएमा गाह्रो पर्न सक्ने पनि बताउनुभयो । शनिबार सिसिएमसीको बैठकबाट अक्सिजन प्लान्टहरुको क्षमता बिस्तार गर्ने, नयाँ सिलिन्डरहरु मगाउने, रेम्डेशिविर लगायतका अन्य मेडिकल सामग्रीहरुलाई आयात गर्ने तर खोपलाई बिस्तार गर्ने विषयमा छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो ।









































