काठमाण्डौ, 28 जुलाई
गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसधाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ। परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो। धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो। ‘‘धेरै सांसदहरु जिल्ला जानुभएको छ। बैठकमा आउने भनेर जानकारी दिएकाहरुपनि आउनुभएन। धेरै विरामी रहेको बाध्यकारी अवस्थाका कारण बैठकमा कोरम संख्या नपुगेकाले बैठक स्थगित भयो’’, उहाँले भन्नुभयो। केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ। समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भएपनि सम्भव नभएको बताउनुभयो। कोभिडका कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उहाँले कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएपनि सांसदहरु सहभागि नभएको बताउनभुयो। कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभएपनि पहिलो पटक यस्तो भएको उहाँले बताउनुभयो।









































