काठमाण्डौँ, 10 अप्रेल
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—19) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ। सरकारले लकडाउन घोषणा गरेको तेस्रो साता सुरु हुँदासम्म काठमाडौँ उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामको बाहनामा लकडाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ। राजधानीमै संघीय सरकारले घोषणा गरेको लकडाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिन्छन्।

काठमाडौँ बाहिर सामाजिक दुरी कायम गर्दै लकडाउनको पूर्ण पालना भएको देखियो। ग्यास, खाद्यान्न बोकेका केही गाडीहरु चलेपनि राजमार्ग वरिपरिका होटलहरु बन्द छन्। त्यती मात्रै होइन राजमार्ग वरिपरिका घर अगाडी तारबार नै गरिएको छ। कोरोना विरुद्ध लड्न स्थानीय कति सचेत भएर अगाडी बढिरहेका छन् भन्ने कुराको प्रमाण यो नै हो। स्थानीयहरुले सामाजिक दुरी कायम गर्नकै लागि तारबार गरिएको बताए। राजमार्गमा खाद्यान्न, डिजेल, पेट्रोल तथा ग्यास बाकेका र अन्य मालवाहक सवारी सञ्चालन भइरहेका छन्।

स्थानीय—स्थानीयहरुले मात्रै होइन गाउँ—गाउँबीच पनि सामाजिक दुरी कायम गरेको देखियो। एक गाउँबाट अर्को गाउँमा अनावश्यक रुपमा कोही आवत-जावत नगरुन भनेर पुलमा बार लगाइएको छ। सूचना टाँस गरेर नै एक ठाउँबाट अर्को ठाउँमा अनावश्यक रुपमा आवत-जावत नगर्न भनिएको छ। सूचनामा लेखिएको छ, ‘‘यस वुटार चुमरखोल जोड्ने पुलमा अत्यावश्यक र भैपरी आउने समस्या बाहेक आवत-जावत गर्न पाइने छैन्, किराना पसलामा सामान खरिद गर्द एकमुष्ट खरिद गर्ने र पटक पटक हिडडुल नगर्ने, लकडाउनको पूर्ण पालना गर्ने, सार्वजनिक स्थल पूर्ण रुपमा सफा गर्ने र कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्ने।’’

सरकारले घोषणा गरेको लकडाउनको भोलिपल्ट देखि नै पुल बन्द गरिएको गण्डकी गाउँपालिका 2 दह भञ्ज्याङका स्थानीय गगनबहादुर थापाले बताउनुभयो। सो पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक, दह भञ्ज्याङ, फुर्केडाडाँ लगायतका गाउँमा पुग्न सकिने उहाँको भनाई छ। अत्यावश्यक काम र दैनिक उपभोग्य सामान किन्नका लागि मात्रै पुल खुल्ने गरेको उहाँको भनाई छ।

चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबु खैरेनी गाउँपालिकाले ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापनगरी स्थानीय, सवारी चालक तथा अन्य व्यक्तिहरुको ज्वरो नाप्ने गरेको देखियो। एक दिनमा करिब १ सय जनाको तापक्रम (ज्वरु) नाप्ने गरेको इच्छाकामना गाउँपालिका कुरिनटारमा रहेको सहायता कक्षमा रहनुभएका सिनियर अहेब चन्द्रबहादुर गुरुङले बताउनुभयो। बागमती प्रदेश प्रवेश गर्ने पश्चिमको मुख्य नाकामा स्थापना भएको सो स्वास्थ्य सहायता कक्षबाट पैदलयात्री, मोटरसाइकल चालक र अन्य सवारी चालक तथा कर्मचारीको तापक्रम नाप्ने र कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएमा थप निगरानी गर्ने गरिएको उहाँले बताउनुभयो।

गाउँमा कोरोना भाइरस विरुद्ध लड्न स्थानीय प्रतिवद्ध त छन तर होटल व्यवसायीहरुलाई भने चिन्ता पनि थपिएको छ। पर्यटक आउने मुख्य सिजनमै भाइरस देखिनु र लक डाउनका कारण व्यवसाय नै चौपट हुने डर उनीहरुमा छन्। लक डाउनले धेरै असर गरेको बन्दीपुरका एक होटल व्यवसायी नानु श्रेष्ठले बताउनुभयो। माघ फागुनबाट पर्यटक आउने सिजन सुरु भएपनि यहि समयमा भाइरस देखा परेपछि ठूलो असर गरेको उहाँको भनाई छ। बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएपनि कोरोनाको भाइरस संक्रमणको जोखिम कम भएपछि आन्तरिक पर्यटक आउने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ।

काठमाडौं छिर्ने मुख्य नाकामा समेत चेकजाँचमा कडाई गरिएको छ। चन्द्रागिरी नगरपालिकाले उपत्यका छिर्ने मुख्य नाकाबाट आवतजावत गर्ने सवारी चालकहरुको लागत राख्ने र तापक्रम नाप्ने व्यवस्था मिलाएको छ। सिमित स्रोत साधनकाबीच स्थानीय तहहरुले कोरोना विरुद्ध लड्न भरपुर प्रयास गरिरहेका छन्। संघीय सरकारले स्थानीय तहहरुमा पर्याप्त स्वास्थ्य सामग्री दिने र अझै प्रोत्साहनका कार्यक्रम घोषणा गरेर अगाडी बढ्न सके गाउँ गाउँबाट कोरोना संक्रमणको जोखिम र त्रासलाई निर्मुल पार्न सहयोग पुग्नेछ।










































