काठमाडौं, 15 जून 2022
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रपनि आशालाग्दो देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा आएका प्रश्नको जवाफ दिदै मन्त्री ओलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको बताउनुभएको हो । उहाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि बढाएसंगै पर्यटकको आवतजावतमा थप सहज भएको दावी गर्नुभयो । पर्यटकिय क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले यस क्षेत्रलाई आवश्यक सहुलियतको व्यवस्था गरेको उहाले बताउनुभयो । उहाले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो । त्यस्तै आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताउनुभयो । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उहाँले बताउनुभयो । बञ्चरेडाँडामा सिसडोलको समस्या दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काठमाडौँ उपत्यकामा स्याटेलाइट सिटी बनाउन तयारी अघि बढाएको उहाँले बताउनुभयो । बाहिरी चक्रपथ बनाइने कुरा काममा परिणत हुन नसकेको उहाँको भनाइ थियो । उहाले सुरक्षित आवास र जनता आवास सशर्त कार्यक्रमका रुपमा प्रदेशमा गएको र त्यहाँको सञ्चित कोषमा रकम गएपछि कार्यक्रम सञ्चालन हुने धारणा राख्नुभयो ।









































