काठमाडौं, 15 जून 2022
रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बुधबार काठमाडौंमा पनि मनाइएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधबार काठमाडौंको खुल्लामञ्चमा भूमे÷भूम्या पर्व मनाइएको हो । त्यस अवसरमा उनीहरुले आफ्नो संस्कृति झल्कने खालका भेषभूषासहितको नाचगान गरेका थिए । उनीहरुले एक आपसमा सुःख, शान्ति र समृद्धिको शुभकामना पनि साटासाट गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले १८ मगरात क्षेत्रमा बसोबास गर्नेहरुले भूमि पूजा गरेर मनाउने भूम्या पर्व सवैतिर फैलिएको बताउनुभयो । पुनले ऐतिहासिक संस्कृतिले मुलुकको पहिचान झल्काउने भएकाले सवै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस पर्वको विशेष महत्व भनेको आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । मगर समूदायले यस पर्वलाई दैवी विपत्तिबाट जोगिनका लागि गरिने उत्सवको रुपमा पनि लिने गर्दछन् ।









































