काठमाडौं, 10 अक्टूबर 2022
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो । कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन पनि गरेको थियो ।









































