12 अक्तूबर 2021
कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा यसवर्ष मनाइएको छ । झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधि पुर्वक सबै भन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो । घटस्थापनादेखि विधिवत रुपमा सुरु भएपनि यो जात्राको मुख्य विधि फुलपातीका दिन गरिन्छ । जात्रा सम्पन्न गर्न विभिन्न ३२ खलक आवश्यक पर्छ । जसमा ठेचोको नवदुर्गा नाच, पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवी सञ्चालन गुठी ‘मू छेँ आँगन घर’, पाटन नकबहिल टोलको अष्टमात्रिका नाच, काः मंका गुठी च्यासल, मुहाली, खड्गी खलक, बौ छाय्गु गुठी, धौगुः खलः, कायगु ननीका गुठियारलगायत चाहिन्छ । विभिन्न कारणले रोकिएको जात्रा ०७५ मा २३ वर्षपछि पुनः सञ्चालनमा आएको थियो भने २०७६ मा पाटन पटुको टोलमा ४० वर्षपछि नवदुर्गा नाच पुनःसञ्चालनमा आएको थियो ।









































